Home » , , » दसैंको नयाँ नोट आजदेखि वितरण गरिने

दसैंको नयाँ नोट आजदेखि वितरण गरिने

Written By SEO Expert in Nepal on Tuesday, October 1, 2013 | 7:51 AM

काठमाडौं— नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोटको वितरण मंगलबारबाट सुरु गर्ने भएको छ । राष्ट्र बैंकले जिल्लामा वितरण गर्न नयाँ नोट पठाइसकेको छ भने राजधानीमा भने सोमबारबाट वितरण गर्नेछ।
राष्ट्र बैंकले दसैंमा नयाँ नोटको अभाव हुन नदिन ३० अर्ब रुपैयाँको जोहो गरिसकेको छ । उसले नयाँसहित एकपटक प्रयोग भइसकेको सुकिला नोट पनि वितरण गर्ने छ । बैंक तथा वित्तीय संस्थालाई आकारअनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने छ ।

'आवश्यकताअनुसार बैंकिङ कार्यालयमा काउन्टर थपेर नयाँ नोट वितरण गर्छौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, 'नयाँ नोटका लागि पर्याप्त मौज्दात राखिएको छ ।' उनले जिल्लामा चाहिने आवश्यक नयाँ नोट पठाइसकेको जानकारी दिए ।

वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाउने छन् भने विकास बैंक, फाइनान्स कम्पनीले योभन्दा कम । गत वर्ष बैंक, वित्तीय संस्थालाई दिइएको नोट सर्वसाधारणसम्म नपुग्दै बैंकका कर्मचारीका आफन्त र ग्राहकलाई साटेर सकिएको गुनासो थियो । गत वर्षको गुनासोलाई पनि सम्बोधन गर्ने गरी राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको आवश्यकता हेरेर नयाँ नोट दिने नीति लिएको हो ।

राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र राजधानीको थापाथपी बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिने ज्ञवालीले जानकारी दिए । राष्ट्र बैंकले थपाथलीमा आधा दर्जनको हाराहारीमा सटही काउन्टरबाट नोट वितरण गर्ने छ ।

ग्राहकबाट बढी माग हुने ५, १०, २०, ५० र १०० का नोट बढी वितरण गरिने छ । यसमध्ये २० र ५० का नोटको माग बढी छ । राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरका नोटमध्ये ६० प्रतिशतभन्दा बढी नयाँ हुने छन् । बाँकी नोट सुकिला र सफा छन् ।

राष्ट्र बैंकले पोहोर दसैंका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो । उसका अनुसार, अहिले बजारमा दुई खर्ब १७ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा छ ।

गत वर्ष नयाँ वितरण गर्नुअघि बजारमा १ सय ८८ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । राष्ट्र बैंकले काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट नोट सटही गर्ने जनाएको छ ।

चार वर्षअघि राष्ट्र बैंकले कम नोट निष्कासन गर्दा सर्वसाधारणले अभाव झेल्नु परेको थियो । त्यसयता पनि राष्ट्र बैंकबाट नोट ल्याएर वितरण गर्ने जिम्मा लिएका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई मागेजति नयाँ नोट दिन सकेका थिएनन् । गत वर्ष बैंकहरुले ग्राहक र सर्वसाधारणमा फरक व्यवहार गरेको र राष्ट्र बैंकले प्रतिबद्धताअनुसार आवश्यक थप नोट बैंकहरुलाई नदिएकाले सर्वसाधारणले दुःख पाउनु परेको गुनासो आएको थियो ।

राष्ट्र बैंकले पर्वमा नोट प्रयोग गर्दा मैलो नबनाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ । सुकिलो नोट प्रयोग गर्ने प्रवृत्ति विकास गरी राष्ट्रको खर्च बचाउन ज्ञवालीले आग्रह गरे । 'जति छिटो नोट मैलो बनाउँछौं, त्यति चाँडो नयाँ छाप्नुपर्ने हुन्छ,' उनले भने, 'यसले देशको खर्च बढाउँछ ।'

पर्वमा पानीले नोट नभिजाउने, रङ नलगाउने र नपट्याई जतन गर्न उनले अनुरोध गरे । नोट नपट्याएमात्र ८ महिना आयु बढ्ने अनुमान छ । नोटको बन्डलमा जथाभावी स्टिच लगाउने प्रवृत्ति नियन्त्रण गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिइसकेको छ । 'चाडपर्वपछि बैंकमा नोट फर्कंदा सफा भए देशलाई नै फाइदा हुनेछ,' ज्ञवालीले भने । हजार र पाँच सयको एक नोट छपाइमा दुई रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
Share this article :

Post a Comment

 
Support : Sarosebht
portal news of nepal, news portal of nepal, online portal news, online news portal
Copyright © 2013. All Rights Reserved
Website by Saroj Bhattarai
Proudly powered by Blogger